दफा ११
समितिको बैठक र निर्णय
: (१) समितिको बैठक कम्तीमा दुई महिनामा एक पटक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
तर अध्यक्षले चाहेमा सो भन्दा अगावै पनि समितिको बैठक बोलाउन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक तिहाई सदस्यहरूले समितिको बैठक बोलाउनको लागि लिखित रूपमा माग गरेमा तीस दिनभित्र समितिले सदस्य– सचिवले अध्यक्षको स्वीकृति लिई समितिको बैठक बोलाउनु पर्नेछ ।
(३) समितिको सदस्य–सचिवले समितिको बैठक बस्ने सूचनाको साथमा बैठकमा छलफल हुने विषयहरूको सूची बैठक बस्नुभन्दा २४ घण्टा अगावै सदस्यहरूलाई उपलब्ध गराउनु पर्नेछ ।
(४) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपाध्यक्षले बैठकको अध्यक्षता गर्नेछ । अध्यक्ष र उपाध्यक्ष दुबैको अनुपस्थितिमा सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(५) समितिको कूल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(६) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) समितिको निर्णय समितिको सदस्य–सचिवद्वारा प्रमाणित गरिनेछ ।
(८) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।